Logo

खेलाडीसँग प्रधानमन्त्री ओलीको आग्रहः एशियन गेमलाई टार्गेट बनाएर तयारी थाल्नुस्



काठमाडौं,२६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको एशियन गेमलाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको छ ।

बुधवार राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले ओलम्पिक, साउथ एशियन गेमलाई लक्षित गरी तयारी गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालसँग खेलकुदका लागि पर्याप्त श्रोत साधन नभएपनि निरन्तरको अभ्यास र मेहनतले एकदिन अवश्य सफलता हाँसिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सक्दो बजेट खेलकुदका निम्ति छुट्याउने कोशिस गरेको पनि उल्लेख गर्नुभयो । उहाँले आफू यसअघि प्रधानमन्त्री हुँदा भूकम्पबाट दशरथ रंगशालासहित विभिन्न रंगशालाहरु भत्किएको र तत्काल निर्माण गरी १३ औं साग सञ्चालन गरेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनु भयो । कुनैपनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेले जित हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्