खोटाङ, २६ पुस । जिल्ला अस्पताल खोटाङको भवन निर्माण तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि सम्पन्न हुन सकेको छैन ।
ठेकेदार कम्पनी श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो । सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरि सक्ने गरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गएको मङ्सिर २९ गते सकिएको छ ।
१५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माणको काम शुरू गरिएको थियो ।
निर्माणाधीन अस्पताल भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि झ्यालढोका थुनथान, रङरोगन तथा पार्टेशन (विभाजन) को काम बाँकी नै छ ।
अस्पताल भवन निर्माणको काममा ठेकेदार कम्पनीको लापर्बाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका डा. पुष्कल राईले बताउनुभयो । अस्पताल भवन अभावमा साँघुरो टहरामा राखेर भर्ना भएका बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
अस्पतालमा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष (सुत्केरी गराउने ठाउँ), शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायत सेवा टहरामार्फत उपलब्ध गराउने गरिएको छ ।
वि.सं. २०४९ वैशाख १ गते स्थापना १५ शय्याको अस्पताल सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमार्फत भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा ५० शय्यामा स्तरोन्नति गर्नेगरी अस्पताल भवनको ठेक्का लगाइएको थियो ।