Logo

चितवन प्रहरीले बुझायो प्रतिवेदन, रविसहित ३१ जना र ७ वटा कम्पनीलाई मुद्दा चलाउन राय



चितवन, ४ माघ । चितवनको साहारा सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ ।

आज प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जना व्यक्ति र सातवटा कम्पनीमाथि मुद्दा चलाउन राय दिइएको छ ।

यसअघि गत असोज ८ गते पनि प्रहरीले सहारा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही मितिमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रूपैयाँ गएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

यस मुद्दाको मूल जाहेरीमा लामिछानेको नाम परेको थिएन । तर, रकम गएको विवरण खोज्दा लामिछाने तानिएपछि पीडितहरूले पुरक निवेदनमा नाम किटान गरेर जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्