Logo

ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद (भिडिओ)



काठमाण्डौ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले प्रतिनिधि सभामा राष्ट्रिय सभालाई फेरी बृद्धहरुको सभा भन्ने धारणा दोहोर्याउनुभएको छ । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभालाई वृद्धआश्रम भन्दै टिप्पणी गरेपछि सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिवाद गरेका छन्।

मंगलबार प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा गलत कुरा रहेको दाबी गर्दै सांसद शाहीले राष्ट्रिय सभाले जस्ताको त्यस्तै पारित गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाले राष्ट्रिय सभा वृद्धआश्रम बनेको बताउँदै त्यस्तो कुरा ख्याल नगर्ने सभा वृद्धआश्रम नै भएको आरोप लगाउनुभयो। ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’ उहाले प्रश्न गर्नुभयो।

सांसद शाहीले राष्ट्रिय सभालाई होच्याउने शव्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाउनुभयो। उहाले नियमापत्ति गर्दै सांसद शाहीको शव्द सदनको रेकर्डबाट हटाउन माग गर्नुभयो। ‘संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत छ’ पाण्डेले भन्नुभयो।

सांसद पाण्डेको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो। उहाले आफ्नो ध्यानाकर्षण भएको बताउँदै पाण्डेलाई बस्न अनुरोध गर्नुभयो।

सांसद पाण्डे र शाहीको सवाल जवाफमा नेकपा एमालेका सांसद रघुजी पन्त पनि मिसिनुभयो। उहाले आफू यसअघि प्रेस काउन्सिल नेपालको सदस्य भइसकेको र यसबारेमा धेरै कुरा थाहा रहेको बताउँदै राप्रपा सांसद शाहीले सदनमा गलत सूचना सम्प्रेषण गरेको बताउनुभयो। उहाले यस्तो गलत कुरा नगर्न आग्रह गनुभयो।

त्यसपछि सांसद शाहीले ‘राष्ट्रिय सभा विज्ञको सभा हुनुपर्नेमा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र हुन पुगेको’ टिप्पणी गर्नुभयो। ‘राष्ट्रिय सभा विज्ञहरूको भर्ती केन्द्रका लागि बनाइएको हो तर, अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो ?’

एमाले सांसद पन्तले निरन्तर शाहीको कुरा गलत भएको बताईरहनुभयो। तर, सभामुखले बोल्न अनुमति दिनुभएन। निक्कै लामो समयसम्म पन्त आफ्नो आसनबाट उठिरनुभयो। सभामुखले राप्रपा सांसद शाहीलाई व्यक्ति केन्द्रीत भएर नबोल्न अनुरोध गर्नुभयो।

सांसद शाहीले यसअघि राष्ट्रिय सभालाई बृद आश्रम भन्दै टिप्पणी गरेपछि राष्ट्र्सभाले उनीविरुद्ध खेद प्रस्ताव समेत पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्