झापा, ८ असोज । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानअन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापामा यातायात बन्दको घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले ट्रक आगजानीमा संलग्न रहेको आरोपमा झापाको हल्दिवारी गाउँपालिका–१ का ४० वर्षीय भीम लिम्बू तुम्वापो र बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको बताउनुभयो ।
प्रवक्ता चन्दका अनुसार पक्राउ परेका दुवैजनालाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । ट्रक आगजानीमा संलग्न केही व्यक्ति फरार रहेको र खोजीकार्य जारी रहेको जानकारी दिनुभयो ।
सो समूहले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा यूपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका–६, गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लूबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए । आगजानीबाट घाइते भएका दुवै ट्रकका चालकको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।