काठमाण्डौ, २ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताउनुभएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीसँग आज भएको भेटमा उहाँले भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बङ्गलादेशलगायतका देशमा बिक्री गरी समृद्धिको सपना पूरा गर्न विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीका रूपमा प्रचण्डले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गर्नुभएको थियो ।