झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ ।
नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरण सभालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट)गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाउनुभयो । उहाँले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताउनुभयो ।
“हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ ।”, उहाँले भन्नुभयो, “भूमिहीन सुकुम्वासीहरूका समस्या समाधान गर्न अब आउने संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइनेछ । मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ । एमालेविनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन । एमाले झन् ठुलो भएर विजयी भएका आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।”
कोशी प्रदेश विविधतायुक्त र जागरूक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रिय र चुस्तदुरुस्त रुपमा घरघर र व्यक्ति व्यक्तिमा पुग्ने गरी परिचालित हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले युवाहरूलाई आफ्नो देश आफैले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताउनुभयो ।