काठमाडौँ, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण भएको छ ।
धरहरामा एक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफीको अनावरण गर्नुभएको हो।
अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताउनुभयो ।
एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’
प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन प्रवर्द्धन पनि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी हुनुन्थ्यो ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।