काठमाडौँ, ११ मंसिर । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले अस्ति सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेको थियो । श्रेष्ठ पेट्रोल पम्प व्यवसायी हुनुहुन्छ । उहाँ यअसघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य पनि हुनुहुन्थ्यो ।
गएको रमेशकुमार हमालको पदावधि सकिएपछि रिक्त रहेको पदमा पदपूर्ति नहुँदा शेयर निस्कासनको अनुमति तथा दीर्घकालिन योजानाका काम प्रभावित हुँदै आएका छन् । धितोपत्र बोर्डको अध्यक्ष निकै शक्तिशाली मानिन्छ । यसमा करोड मात्रै नभई अर्बौँ रुपैयाँको खेल भएको माओवादी केन्द्रले आरोप लगाउँदै आएको छ ।
माओवादीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले त धितोपत्र बोर्डकै अध्यक्ष नियुक्तीलाई लिएर सरकार ढालेको आरोपसमेत लगाउँदै आउनुभएको छ । उहाँले एउटा शक्तिशाली समूहले सरकारका नियामकीय निकाय कब्जा गरेको र अब छिट्टै राष्ट्र बैंकको गभर्नरमा पनि त्यही समूहकै सदस्य नियुक्ती हुने जिकिर गर्नुभएको छ ।