काठमाडौं, १२ भदौ । मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्याएर मिर्गौला झिकेको तथ्य खुलेको छ।
३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्याएर उनको मिर्गौला झिकेको हो । मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन् ।
ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ओमबहादुर रानाकाअनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका-२ की ४३ वर्षीय शान्तिमाया घलान रहेका छन् ।
खत्रीलाई भदौ ९ गते र घलानलाई ११ गते पक्राउ गरिएको रानाले जानकारी दिनुभयो । रानाकाअनुसार उनीहरूले आर्थिक अवस्था कमजोर भएका ती युवालाई मिर्गौला झिक्दा १० लाख रुपैयाँ कमाउन सकिन्छ भन्दै भारत पुर्याएका थिए।