Logo

पूर्व सभामुख ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने, राष्ट्रपतिद्वारा श्रद्धाञ्जली व्यक्त



काठमाडौं, २ मंसिर । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उहाँको अन्त्येष्टि सोमबार तीन बजेपछि हुनेछ।

८३ वर्षीय पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आइतबार दिउँसो उहाँलाई मृत घोषणा गरेको हो। अस्पतालका निर्देशक डा। योगेश न्यौपानेले अस्पताल मृत अवस्थामा आइपुगेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,“आइतबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालमा ल्याउँदा नै उहाँको मृत्यु भैसकेको थियो। अस्पतालमा ल्याएपछि उहाँको सिपिआर गरिएको थियो।”

उहाँ लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित हुनुहुन्थ्यो। २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी सम्हाल्नुभएका ढुङ्गाना वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले गहिरो दुःख व्यक्त गर्दै ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। ढुङ्गानाका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ।

ढुङ्गानाको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली  गर्नुभएको छ। आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहनुभएका परिवारमा समवेदना प्रकट गर्नुभएको छ।

“पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता, नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैँ स्मरण हुनेछ, प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु”, राष्ट्रपतिले भन्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुङ्गानाको योगदान विशिष्ट रहेको स्मरण गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आज दिउँसो १:३० बजे उहाँको निधन भएको हो। वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्