काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उप प्रधानमन्त्री र मन्त्रीहरूले विदाई गर्नुभएको थियो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो ।थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ । प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा हिजोको सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारीसमेत गराइसक्नुभएको छ ।