काठमाडौँ , १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई प्रशासनका हरेक निकायलाई जवाफदेही बनाउन निर्देशन दिनुभएको छ ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएसँगै अर्याललाई शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत बधाइ दिँदै ओलीले कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो’, उहाले सुझाव दिनुभएको छ, ‘हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ-आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ।’
नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने भन्दै उहाले यसमा कर्मचारी प्रशासनको ठूलो भूमिका हुने उल्लेख गर्नुभयो।