Logo

बङ्गलादेश हिँडेका आमासहित छोराछोरी झ्याप्लेखोलामा अस्ताए, पहिरोसँगै पुरियो सपना



वालिङ, १३ असोज । धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिएर स्याङ्जाका तीन जनाको मृत्यु भएको छ।

पहिरोमा परेर स्याङ्जाको गल्याङ नगरपालिका–३ का सीता भट्टराईसहित उहाँका जुम्ल्याहा छोरा दीपेश र छोरी दीपिका पुरिएका हुन्। जुम्ल्याहा दाजुबहिनी बुटवलको कालिका माविमा कक्षा १० मा अध्ययनरत थिए।

बङ्गलादेशमा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन बङ्गलादेश जानका लागि उनीहरू काठमाडौँ हिँडेका थिए।

शनिबार बुटवलबाट काठमाडौँका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विंगर) धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिँदा त्यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यही गाडीमा सीताको परिवार सवार थियो।

शुक्रबार बिहान बुटवलबाट काठमाडौँका लागि हिँडेका उनीहरू चढेको विंगर झ्याप्लेखोलामा पुरिँदा आमा सितासँगै उनीहरू सदाका लागि अस्ताएका हुन्।  पढाइमा तीक्ष्ण दुवै विद्यालयसहित बाहिर हुने विभिन्न प्रतियोगितामा पनि भाग लिन्थे ।

त्यही क्रममा एस्ट्रोनोमी ओलिम्पियाड सोसाइटीले काठमाडौंमा असोज १७ गते नेसनल एस्ट्रोनोमी ओलिम्पिया प्रतियोगिता आयोजना गरेको थियो । दाजुबहिनीले अनलाइबाटै फर्म भरेका थिए । उनीहरू पहिलो चरणको २०२४ को प्रतियोगिताका लागि छनोट भएको खबर आयो ।

काठमाडौंबाट पहिलो चरणमा छनोट भएपछि दोस्रो चरणका लागि बंगलादेशमा हुने प्रतियोगितामा सहभागी हुन पाइन्थ्यो । बंगलादेशमा हुने प्रतियोगितामा ३२ राष्ट्रका विद्यार्थी सहभागी हुन्थे ।

बंगलादेशमा विजेता बन्ने विद्यार्थी अन्य प्रतिस्पर्धाका लागि अमेरिका जान पाउँथे । प्रतियोगिता जितेर अमेरिका पुग्ने सपना बोकेका दीपेश, दीपिका र उनीहरूकी आमा सीता भट्टराई सवार लु १ ज ४५७८ नम्बरको माइक्रो धादिङको झ्याप्लेखोलामा शुक्रबार राति पुरियो । गाडी पुरिएपछि उनीहरूको प्रतियोगितामा अब्बल सावित भएर अमेरिका पुग्ने सपना पनि पुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्