Logo

बिआरआई सहमतिमै अघि बढ्छ: परराष्ट्रमन्त्री डा. राणा



काठमाडौँ, १५ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताउनुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उहाँले सो जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो “बिआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ र अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ । यो नेपाल र चीनबिचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।”

एक प्रश्नको जवाफमा मन्त्री डा. राणाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेकाले  चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो “यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली कांग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ र यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ । त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफलहरू गरिरहेका छौँ ।”

मन्त्री डा. राणाले नेपाल र चीनबिच सदियौँदेखि घनिष्ठ एवम् मित्रवत् सम्बन्ध रही आएको र यो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबिच समय समयमा हुने उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका चर्चा गर्दै आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता हो भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्