Logo

बिर्तामोड अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा

उद्घाटन मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने



झापा, ७ माघ । बिर्तामोड अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा माघ ८ देखि १९ गतेसम्म विर्तामोडमा हुने ब्यापार महोत्सवको तयारी पूरा भएको आज (सोमवार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।

महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने सो अबसरमा जानकारी गराईएको छ ।

महोत्सवलाई एपोलो पेन्टसले मुख्य प्रायोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडस्थित महोत्सवस्थलमा सोमवार गरिएको पत्रकार सम्मेलनमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

अध्यक्ष न्यौपानेले महोत्सवमा १५० वटा स्टलहरु रहेको बताउनुभयो । यहाँका व्यवसायीहरुले देश विदेशका विभिन्न भागमा उत्पादित सामग्रीहरुको भण्डारण, वितरण र निर्यातको काम गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले भन्नुभयो – “अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रर्वधन गर्ने हाम्रो अपेक्षा छ ।”

महोत्सवले यहाँका व्यवसायी मार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी बस्तु उत्पादन गरेर रोजगार सृजना गराउन थप बल प्रदान गर्ने विश्वास लिएको उहाको भनाई छ । महोत्सवमा मित्रराष्ट्र भारत, भुटान, वंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टलहरु समेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने व्यवस्थापक ललित सिम्खडाले बताउनुभाये । यसैगरी विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने बताइएको छ ।

महोत्सव अवधिभर दुई लाख भन्दा बढी अबलोकनकर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको र महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको प्रवन्ध गरिएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले स्वागत र सञ्चालन महासचिव खतिवडाले गर्नुभएको थियो्

प्रतिक्रिया दिनुहोस्