म्याग्दी,१० असोज। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ।
“वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,” उहाँले भन्नुभयो “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिनुभएको हो ।
याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।
सडक यातायात र बजारको सुबिधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताउनुभयो । “पहिले दशै तिहारका लागि एक महिना पहिलेनै च्याङग्रा हिडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उहाँले भन्नुभयो “अहिले गाउँबाटै प्रतिगोटा रु ३३ देखि ३५ हजारमा च्याङग्रा बिक्री भइरहेको छ ।”
तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ । बर्खामा समुन्द्रि सतहदेखि छ हजार मिटर उचाईको हिमालको फेदमा पुग्ने च्याङग्रा गोठहरु असोज लागेपछि बेशीतर्फ झार्ने गर्छन् ।
तीनरचार वटा घरले वार्षिक रुपमा रु। एक लाख पचास हजार ज्याला दिएर च्याङग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरु च्याङग्रा गोठाला बस्ने गर्छन् ।