Logo

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित



रौतहट, २ फागुन । रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् ।

भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका २५ वर्षीय लक्षमी नारायण साह शुक्रबार बिहान फरार भएका हुन् ।

बिहान ६ बजे शौच गराउन झरौखर थाना छेउको चौरमा लागिएकोमा चौकीदार र प्रहरीलाई झुक्याएर नेपाली सीमातर्फ भागेको भारतीय प्रहरीले जनाएको छ । झरौखर थानाबाट नेपाली सिमाना दशगज्जा बढीमा पाँच सय मिटर टाढा पर्दछ । उनी भागेपछि थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतिहारीले जनाएको छ ।

मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार बिना हतकडीसहित शौच गराउन लागेका चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डिएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरू गरेको छ ।

साहमाथि झरौखर थानामा एफआइआर तत्काल दर्ता गरिएको एसपी प्रभातले जानकारी दिएका छन् । यस्तो एफआइआर मुद्दामा अदालतबाट जमानत नपाइने व्यवस्था रहेको उनले जानकारी दिएका छन् ।

बिआर १ पिबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा भारततर्फ लागिरहेकोमा बिहीबार झरौखर चौकस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको थियो ।

चौकीदार निलम्बन भएपछि स्थानीयले झरौखर थाना प्रमुख सई अभय कुमार सिंह पनि दोषी रहेको भन्दै उनको पनि निलम्बन हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्