काठमाण्डौ, २४ पुस । यसपालिको हिउँद पनि सुक्खा हुने जोखिम बढेको छ । अघिल्ला दुई वटा हिउँद पनि सुक्खा भएका थिए । जल तथा मौसम विज्ञान विभागले यो वर्षको हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरेकोमा पुस सकिन लाग्दा पनि धेरै ठाउँमा हिउँदे वर्षा भएकै छैन । पहाडी, उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट वर्षा र हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा भएकै छैन ।
नेपालमा हिउँदे वर्षा गराउने अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायु दुवैमा जलयुक्त वाष्पको कमी भएकोले वर्षा हुन नसकेको जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो ।
नेपालमा हिउँदे वर्षाको निकै महत्त्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य स्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनर्भरण गर्छ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनर्भरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय ठाउँमा मूल फुट्न नै नसक्ने हुन्छ ।
यस्तै हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । यसले वायु प्रदूषण पनि बढाउँछ । हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष असर गर्ने जलवायु विज्ञ उप्रेती बताउनुहुन्छ ।
नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्षयता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने स्रोतमा आएको सुक्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।