काठमाडौं, ९ असोज । राप्रपाका नेता रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाटबारे आफूले गरेको टिप्पणीमाथि प्रचण्डको सचिवालयले खण्डन गरेकोप्रति आफ्नो ध्यानकर्षण भएको जनाउनुभएको छ ।
मिश्रले फेसबुकमा लेख्नुभएको छ, ‘हिजो प्रचण्डजी र मबीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ ।’ मिश्रले सचिवालयको खण्डनलाई जस्ताको तस्तै प्रकाशित गर्नु आफ्नो दायित्व ठानेको बताउँदै सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभार व्यक्त गर्नुभएको छ । साथै, उहाँले ठूला नेताहरूसँग भएका गोप्य कुराकानी कहिल्यै सार्वजनिक नगर्ने आफ्नो नीति रहेको पनि स्पष्ट पार्नुभएको छ ।
मिश्रले आफ्नो थप टिप्पणीमा भन्नुभएको छ, ‘ठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस्’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन । र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन् । काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन् । ती सबै ‘प्रचण्ड’ पथगामी हुन् । ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्ड’को संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु ।’
मिश्रले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्ड्याउन सुझाव दिने गरेकोसमेत बताउनुभएको छ ।
यस्तो छ मिश्रको स्टाटस: