Logo

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल



ललितपुर, साउन २० गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताउनुभएको छ ।

भैसेपाटीस्थित मन्त्री निवासमा आइतबार अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनीतिक व्यवस्थाअनुसार बन्नसक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनीतिक अस्थिरताको प्रतिच्छाया मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था नरहने स्पष्ट पार्नुभएको हो ।

अहिलेको व्यवस्थामा बन्नसक्ने बलियो र दिगो सरकार यही हो । लामो इतिहास भएका र व्यवस्था बदल्न योगदान गरेका दुई ठूला दल मिलेर सरकार बनाएका छन् । राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा प्रभाव पार्ने अवस्था अब हामी आउँन दिँदैनौं भन्ने सन्देश दिएका छौँ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई उत्साहित भएर उत्पादनमा, लगानीमा केन्द्रित हुनका निम्ती सरकारले प्रोत्साहित गर्छ । सरकारले अविभावकको भूमिका निर्वाह गर्छ भन्ने अनुभूति दिलाउन चाहान्छौँ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मिलेर स्थिर सरकार गठन भएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले अब निजी क्षेत्रले भरोसायोग्य अविभावक पाएको बताउनुभयो । अर्थतन्त्रमा समस्या देखिएका हरेक क्षेत्रलाई मिहीनढङ्गले विश्लेषण गरेर त्यसको समाधान खोजिने पनि उहाँको भनाइ छ ।

नेपाली अर्थतन्त्र अहिले दबाबमा छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नका निम्ती अर्थतन्त्रलाई चलायमान गर्न जरुरी छ र अर्थतन्त्रमा जे जति समस्या देखिएका छन्, ती समस्यमा प्रवेश गरेर समाधान खोज्दै अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता हो”, पौडेलले भन्नुभयो, “शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो । यसका निम्ती अर्थतन्त्रका सबै सम्बाहक पक्षलाई त्यहाँ रहेको समस्यामै प्रवेश गरेर समाधान खोज्न हामी केन्द्रित हुनुपर्नेछ ।

कतिपय आर्थिक सूचकहरु नकारात्मक रहेको उल्लेख गर्नुहुँदै उहाँले समग्र मागमा न्यूनता आएको, राष्ट्रिय उत्पादन घटिरहेको र त्यसको प्रभाव रोजगारीमा परेको छ बताउनुभयो । “राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुँजीगत खर्च सन्तोषजनक ढङ्गले गर्न सकिरहेका छैनौँ । समग्रतामा भन्दा नेपाली अर्थतन्त्र शिथिल नै छ”, उहाँले भन्नुभयो ।

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सरकार निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको र आवश्यक सुझावहरु लिएर समस्या समाधानका लागि प्रयास गरिरहेको पौडेलले जानकारी दिनुभयो ।

निजी क्षेत्र हाम्रो अर्थतन्त्रको महत्वपूर्ण आधार हो । निजी क्षेत्रको मनाबल बढाउनु, उत्पादनका निमित्त उत्प्रेरित गर्नु र समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु यतिबेला महत्वपूर्ण प्राथमिकताको विषय हो”, उहाँले भन्नुभयो ।

आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निजी क्षेत्रसँग नियमित संवादमा रहेको र निजी क्षेत्रसँग सुझाव पनि लिइरहेको बताउनुभयो । “निजी क्षेत्रले राखेका अपेक्षाहरु सम्बोधन गर्न सम्भव छन् वा सम्भव छैनन् भन्ने कोणबाट पनि हामी हेरिरहेका छौं । क्रमशः समाधानका प्रयासहरु अगाडि बढेका छन्”, उहाँले भन्नुभयो ।

उहाँले चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले अथतन्त्रसँग सम्बन्धित मौद्रिक क्षेत्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । नयाँ सरकार गठन भएपछि र मौद्रिक नीति जारी भएपछि पुँजीबजार सुधारोन्मुख हुँदै गएको र यसलाई नयाँ सरकारप्रति जनताको विश्वासका रुपमा आफूले लिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्