काठमाडौं, १७ वैशाख । पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका निजलाई केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो ।
सोही मुद्दामा लामो समय कारागार बस्नुभएका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए ।
रेशमलाई पक्रन सर्वोच्चले आजै पठाएको थियो पत्र
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतको २०८० जेठ २ गते भएको फैसलाका आधारमा पक्राउ गरेको पाइएको छ।
सर्वोच्च अदालतको रिट तथा मुद्दा महाशाखाले आज बुधबार उक्त फैसलाको पूर्ण पाठसहित पत्र पठाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको हो।
रेशमलाई पक्रन बिहान प्रहरीको टोली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेको थियो। रेशम आइपुग्नासाथ प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका रेशम चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका थिए। तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए।
त्यसबखत रेशमलाई जन्मकैद गर्ने मातहत अदालतका फैसला सर्वोच्चले सदर हुने निर्णय सुनाइसकेको भए पनि पूर्ण पाठ आइसकेको थिएन। पछि आएको पूर्ण पाठमा जन्मकैद सजाय तोकिएका व्यक्तिलाई आममाफी दिन नपाइने उल्लेख गरिएको छ।