Logo

कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम सरकारले तत्काल बन्द गरोस्ः माओवादी केन्द्र(भिडिओ)



काठमाडौँ, २५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

शुक्रवारबाट काठमाडौंको पेरिसडाँडामा शुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रवन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो ।

भ्रष्टाचार बिरोधी अभियानमा अवरोध आउने खालका कुनैपनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकले हवाई र बस दुर्घटनामा परेकाहरुलाई उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

दुवै दुर्घटनामा परी ठूलो धनजनको क्षति भएकाले राहतसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई भनिएको प्रवक्ता सापकोटाले बताउनु भयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मुलुकको पछिलले राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दैै जनताको कुरा सुनेर काम गर्न पनि सरकारलाई सुझाव दिनुभएको थियो ।

उहाँले संक्रमणकालिन न्याय सम्बन्धि  विधेयकमा दलहरुबीच सहमति भएर अघि बढ्ने कुरा सुखद् भएको पनि बताउन भएको प्रवक्ता सापकोटाले बताउनु भयो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक (भोलि) शनिवार पनि बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालयमा पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको पनि माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्