Logo

संसद्को विशेष अधिवेशन बोलाउन आह्वान गर्ने विपक्षी दलहरुको निर्णय



काठमाडौं, २ माघ ।  प्रतिपक्षी दलहरूले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो ।

सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत भएको नेताहरूले बताएका छन् । विपक्षी दलहरूले सरकार स्वेच्छाचारी बन्दै गएको आरोपसमेत लगाएका छन् ।

बैठकको निर्णयबारे जानकारी दिँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताउनुभएको छ ।

सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकपश्चात उनले सरकारले अझै पनि संसदलाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताउनुभयो । उहाले भन्नुभया्, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसदलाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरुको तर्फबाट आवश्यक पर्‍यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौँ । यसमा हाम्रो समझदारी बनेको छ ।’

यसको साथै, उहाले सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत स्वइच्छाकारी ढंगले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्तिविरुद्ध ६ दलहरु एकै ठाँउमा रहेको बताउनुभयो । उहाले भन्नुभयो, ‘सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढंगले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ त्यसमा हामी ६ दलहरु एकै ठाँउमा रहेका छौँ । सबैको चिन्ता, चासो र सुझाव सरकार स्वइच्छाचारी बन्दै गएको छ । संसद्लाई छल्न खोजेको छ । सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ ।’

आजको बैठकमा ६ पार्टीहरुको सहभागिता रहेको र अन्य प्रतिपक्षमा रहेका पार्टीहरुको पनि सकारात्मक समर्थन रहेको पनि उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्