झापा, ३ फागुन । सन्थाल जातिको प्रमुख चाड दिसोम सोहराई आज भव्य कार्यक्रमका बिच हल्दीबारीमा सम्पन्न भएको छ। ५ दिन सम्म मनाइने यो पर्वमा विशेष गरी चेली माइती भेला हुने खानपान तथा नाचगान गर्ने गरिन्छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले सन्थाल समुदायको संस्कार संस्कृतिको जगेर्ना गर्न आफु सदैव तयार रहेको बताउनुभयो ।
पुर्व उपप्रधानमन्त्री लिङदेनले तराईको आदिवासी, आफ्नो छुट्टै भेषभुषा, मौलिकता रहेको सन्थाल समुदाय विशेषगरी उच्च शिक्षा हासील गर्न पछि परेका कारण हरेक क्षेत्रमा पछि परेको भन्दै पहिलो प्राथमिकतामा शिक्षा राख्न पर्नेमा जोड दिनुभयो ।
नेपालको एउटा फरक संस्कृति रहेको यो जातिले उठाएका उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने पनि उहाले उललेख गर्नुभयो ।
संविधानसभा सदस्य माननीय मोहन टुडुले पूर्वी नेपालमा बसोबास गर्ने करिब ५७ हजार सन्थाल भएपनि राज्यको उच्च ओहोदामा अझैपनि पुग्न नसक्नु दुखदायी भएको भन्दै संस्कार संस्कृतिको जगेर्ना गर्दै शिक्षालाई पहिलो प्राथमिकतामा राख्न सबैलाई आग्रह गर्नुभएको थियो ।
सोहराई पर्वको अवसरमा शुभकामना दिदैं गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले स्थानीय तहमा यो पर्वमा स्थानीय बिदा दिन तथा कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने पहिलो पालिका हल्दीबारी भएको र आगामी दिनहरुमा उनीहरूको मागहरूलाई पालिकाले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
सन्थाल जातिको अस्तित्व जोगाउन तथा आर्थिक अवस्था सुधार गर्न पनि सिपमुलक तालिम कार्यक्रम ल्याइएको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने उहाले बताउनुभयो।
नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाई , संथाल विकास समिति झापाका अध्यक्ष बडाराम हेमरम ,हल्दिबारी नमुना माध्यमिक विद्यालयका प्रअ टंक पाख्रिन ,हल्दिबारी वडा नं-२ का वडा अध्यक्ष सुकलाल राजवंशी, नेपाल संथाल आदिवासी उत्थान संघ केन्द्रिय अध्यक्ष सुन्दर बेस्रा,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप बेस्रा, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
झापा ,मोरङ ,सुनसरी जिल्ला भित्रका विभिन्न पालिका बाट आदिवासी सन्थाल समुदायको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्पर्धात्मक समुहगत नृत्य प्रस्तुत गरिएको थियो भने उत्कृष्ट हुनेलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
नेपाल सन्थाल विकास संघ र जुवन सन्थाल समाज हल्दिबारीको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता बुद्धिनाथ किस्कु र सञ्चालन लुखिराम मुर्मले गर्नुभएको थियो ।