काठमाडौं, २४ भदौ । नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि तत्काल पुनरावलोकन गर्न सत्तारुढ नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले माग गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो माग गर्नु भएको हो । त्यसो नगरिए काठमाडौंमा एउटा विद्रोहको स्थिति निर्माण हुने अवस्था आउने भएकाले पनि सरकारले यस विषयमा गम्भिर भएर आम जनताको हितमा काम गर्नुपर्ने बताउनु भयो ।
सांसद केसीले काठमाडौंको नदी किनारामा ३/४ आना जग्गामा घर बनाएर बसेका नागरिकहरुलाई विचल्ली बनाउने गरी सर्वोच्च अदालतले आदेश दिएकाले त्यसलाई रोक्नका लागि सरकारले सर्वोच्च अदालतमा पुनरावलोकनमा जाने निर्णय लिनु सकारात्मक रहेको पनि बताउनु भयो । सांसद केसीले सो विषयमा जनताको पक्षमा आवाज उठाउन नगरपालिकाहरुलाई पनि आग्रह गर्नुभयो ।
सांसद केसीले जनतालाई अन्यायमा पर्न नदिने कुरामा सरकार सदैव सचेत हुनुपर्ने पनि बताउनु भयो ।