Logo

सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने, कारागारमा भने रवि र छविसँगै हुने



भैरहवा, २३ चैत । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएको छ ।

उच्च अदालत बुटवलले पुनः पक्राउ गर्न आदेश दिएलगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो । उनलाई पहिलो फ्लाइटबाटै रूपन्देही लगिएको हो ।

यसैबीच, आज (शनिबार) र आइतबार सार्वजनिक बिदा भएकाले लामिछाने सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने भएका छन् ।

प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले लामिछाने सोमबारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् । ‘दुई दिन सार्वजनिक बिदा भएकाले सोमबारसम्म उहाँ प्रहरी हिरासतमा रहनुहुन्छ, बिदा खुल्ने बितिक्कै पहिला अदालत पेस गरेर मात्रै अनि कारागार पठाउने छौँ ।’ उनले भने ।

सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्नेगरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्