झापा, २८ भदौ । हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । भदौ २७ र २८ गरेको कार्यक्रममा पालिकाका सबै स्वास्थ्य संस्थाहरूले गरेको वार्षिक कार्यसम्पादन प्रस्तुत गरीएको थियो ।
यो गाउँपालिकामा १ आधारभूत अस्पताल, ३ स्वास्थ्य चौकी र २ आधारभूत स्वास्थ्य केन्द्र संचालनमा रहेका छन्।
यि सबै स्वास्थ्य संस्थाहरुमा गरेर २०८०र८१ मा ४६ हजार २ सय ६ जनाले स्वास्थ्य सेवा लिएका थिए जसमा आधारभूत अस्पतालमा मात्रै २४ हजार २ सय ७३ जनाले सेवा लिएको आजको समिक्षामा जानकारी गराइएको थियो।
स्वास्थ्य संस्थाहरुमा कुन कुन रोगका के कति बिरामी आए, कुन कुन खोप के कति लगाए लगायत विवरणहरु प्रस्तुत गरिएको थियो भने स्वास्थ्य संस्थाहरुमा रहेका समस्याको बारेमा पनि जानकारी गराइएको थियो।
गाउँपालिका सामाजिक विकास संयोजक शान्ता शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, कार्यपालिका सदस्य बिजय राजवंशी स्वास्थ्य कार्यालय झापाका वरिष्ठ तथ्याङ्क अधिकृत चुडामणि लुइटेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले आ आफ्नो वडाका स्वास्थ्यका गतिविधि प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएकाले स्वास्थ्यकर्मीहरू लाई गुणस्तरिय सेवा प्रदान गर्न निर्देशन दिनुभएको थियो।
कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रकास खतिवडाले गर्नुभएको थियो ।