काठमाडौँ, २१ कात्तिक । निर्वाचन आयोगले चुनावको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेको छ ।
सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि चुनाव र उम्मेदवारप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन् ।
उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावरूपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररूपी ढुङ्गा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए ।
उनले अँध्यारो कोठामा बसेर चुनाव बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकलाई उम्मेदवारको सही सूचना दिन अग्रसर हुन सुझाव दिए ।







