Logo

अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन निर्देशन



काठमाडौँ, ५ असार । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले दिल्लीमा रहेको नेपाली दूतावासलाई अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउथले यस्तो निर्देशन दिएका हुन् ।

उनले भारतले बनाएको नयाँ संसद् भवनभित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताए ।

उनले अखण्ड भारतको नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनेर भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताएका हुन् ।

मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिएको बताए ।  उनले अखण्ड भारतको नक्साभन्दा पनि चित्र भएको बताए ।

उनले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चार माध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारिक जानकारी नआइ बोल्न नमिल्ने बताएको जानकारी दिए । दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले पूर्ण जानकारी नलिइ बोल्नु परिपक्व नहुने उनले बताए ।

उनले सरकार नेपालको नक्साको बारेमा स्पष्ट रहेको पनि बताए । उनले नेपालको नक्सा के हो भन्ने कुरा २०७७ साल असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको बताएका छन् ।

उनले नक्साका विषयमा सधैँ विवाद बनाइराख्नु उचित नहुने बताए । उनले ईपीजीको प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे नेपाल सरकारलाई जानकारी नभएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्