Logo

अख्तियारकाे टाेली पशुपतिमा, मन्दिर परिसर खाली गराइयाे



काठमाडौँ, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरीमा राखिएको सुनको तौल लिने काम गरिरहेको छ ।

जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको विषयमा अनुसन्धान गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ ।

अख्तियारको टोलीले सुनको विषयमा अनुसन्धान गर्ने भएपछि मन्दिर परिसर खाली गराइएको छ । अहिले मन्दिर परिसरमा सञ्चारकर्मी, सुरक्षाकर्मी र कार्यालय सम्बन्ध व्यक्तिबाहेकलाई प्रवेश दिइएको छैन ।

अख्तियारसँगै सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवम् विज्ञका साथै खानी तथा भूगर्भ विभागका अधिकारी र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँच्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा तौल र गुणस्तरको विषयमा अख्तियारमा उजुरी परेको थियो । ११ किलो कम सुन राखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले पनि अनियमितताको शङ्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्