Logo

अग्रिम टिकट काट्न बसपार्कमा भीड



काठमाडौँ, २२ असोज । दसैँ, तिहार र छठका लागि आ–आफ्नो घर जानेहरूको बसको अग्रिम टिकट काट्न नयाँ बसपार्कमा भीड लागेको छ । व्यवसायीले आजदेखि दुरीमा चल्ने बसको अग्रिम टिकट खुल्ला गरेपछि टिकट काट्न यात्रुको भीड लागेको हो ।

देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

परिवारका चार सदस्यलाई लिएर दार्चुला जान लागेका दीपक रावल बिहान ३ बजे ललितपुरबाट टिकट काट्नका लागि नयाँ बसपार्क आइपुगेका छन् । आगामी कात्तिक २ गते दार्चुला जानका लागि नयाँबसपार्क आइपुगेका रावलले बिहान ८ः३० बजेसम्म टिकट पाएका छैनन् । “दार्चुला जाने बस थोरै भएकाले टिकट पाउन समस्या भएको छ, दसैँको समयमा त बस थप्नुपरो नि”, उनी भन्छन् । काठमाडौँबाट दार्चुलाको भाडादर रु रु चार हजार छ सय छ ।

यस्तै, काठमाडौँबाट धनगढीका लागि टिकट लिन नयाँबसपार्क आएका देवराज ओझा पनि टिकट काट्ने पर्खाइमा छन् । काठमाडौँको नयाँ बानेश्वरस्थित युनिभर्सल कलेजमा सुपरभाइजरका रुपमा कार्यरत ओझालाई काठमाडौँदेखि धनगढीसम्म पाँच जनाको टिकट चाहिएको छ । उनी बिहान ५ बजेदेखि नै लाइनमा छन् ।

उनले भने,सरकारले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइदिएको भए घरमै बसेर टिकट काट्न पाइन्थ्यो, नयाँबसपार्कमा भीडभाड हुँदैनथ्यो, अनलाइनमार्फत टिकट काट्न सकिन्छ भन्छन् तर सधैँ दसैँ लागेपछि नयाँबसपार्क धाउनुपर्छ ।”

धनगढीकै कपिल ओझा काठमाडौँदेखि धनगढीको हवाई भाडा ज्यादै महँगो भएकाले बसको टिकट काट्न आएको बताए । “बस व्यवसायी र वायुसेवा कम्पनीले दसैँको समयमा यात्रुलाई अफर दिनुको साटो झन टिकट बढाउने गरेका छन्, यो राम्रो कुरा होइन”, उनी भन्छन् । काठमाडौँदेखि धनगढीको बस भाडा रु दुई हजार सात सय रहेको छ ।

यस्तै, काठमाडौँदेखि अर्घाखाँचीको सन्धीखर्क जानका लागि कक्षा १२ मा अध्ययनरत छात्र विवेक श्रेष्ठ पनि बिहानै नयाँ बसपार्क आएका छन् । १ गतेदेखि ४ गतेसम्मको जुन दिनको टिकट पाए पनि काट्ने मनस्थितिका साथ बसपार्क आएका श्रेष्ठ लिभरपुल कलेजमा अध्ययरत गर्दछन् ।

यस्तै, पूर्वको ताप्लेजुङ जानका लागि दीपकुमार लिम्बू बिहानै टिकट काट्न नयाँ बसपार्क आए । उनले एक घण्टा लाइन बसेर सहजै टिकट लिए । काठमाडौँदेखि देशको पश्चिम क्षेत्रभन्दा पूर्व क्षेत्रमा जाने यात्रुले तुलनात्मक रुपमा सहजरुपमा टिकट पाएका छन् । पूर्व क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत टिकट लिने व्यवस्था मिलाइएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक सुनिल कुँवर पूर्व जाने यात्रुको सहायताका लागि एउटै व्यवस्थापन निर्माण गरी यात्रुलाई सेवा प्रदान गरिएको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गरे । “राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उनी भन्छन् । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको बताए । उनले भने,“अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ, १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ ।” उनी यात्रु सहायता कक्षमार्फत यात्रुको समस्या सम्बोधन गरिने बताए ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्ल दसैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताउनुहुन्छ । उनले भने, “अहिले २४ टिकट बुकिङ काउण्टर थप गरेका छौँ, आवश्यक परेको खण्डमा काउण्टर बढाउन सकिन्छ ।”

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । काठमाडौँ महानगरपालिका–२६ गोँगबु विष्णुमती खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्