Logo

अघिल्लो निर्वाचनभन्दा उल्लेख्य धेरै स्वतन्त्र उम्मेदवार



काठमाडौँ, २३ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा एक-तिहाइ भन्दा धेरै स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा रहँदा त्यसले संसदको शक्ति संरचनामै असर पार्ने नदेखिए तापनि त्यो दलहरूका लागि धेरैतिर सकस बनिरहेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

दुवै तहका संसद्का लागि अघिल्लो आम निर्वाचनमा भन्दा यसपटक उल्लेख्य रूपमा स्वतन्त्र उम्मेदवारहरू बढेका हुन् ।

सङ्घतर्फ २०७४ सालको निर्वाचनमा भन्दा यसपटक झण्डै १० प्रतिशतले बढेर ३६ प्रतिशत स्वतन्त्र उम्मेदवार खडा भएका छन् ।

प्रदेशतर्फ पछिल्लो आम चुनावभन्दा झण्डै १८ प्रतिशत उम्मेदवार बढेका हुन् ।

एक जना राजनीतिशास्त्री कृष्ण हाछेथुले ‘राजनीतिक दल तथा तिनका नेताप्रति उच्च वितृष्णा’ देखिए पनि स्वतन्त्रबारे समेत कुराहरू ‘बढाइ-चढाइ’ भइरहेको ठान्छन् ।

‘२०४८ सालयताको नेपालको निर्वाचन इतिहास हेर्ने हो भने कि त स्वतन्त्रले जित्दै नजित्ने या दुईभन्दा धेरै सङ्ख्यामा नजितेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्