काठमाडौं, १७ पुष । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ। येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानेर विकसित गरिएको यो पात्रोलाई पादरी ग्रेगोरियनको नामबाट ग्रेगोरियन क्यालेन्डर भनिन्छ।
नयाँ वर्षको अवसरमा यस पात्रो मान्ने देश तथा समुदायहरूमा आज शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम र उत्सवका साथ नयाँ वर्ष मनाइँदैछ।
ग्रेगोरियन पात्रो सौरमासको आधारमा निर्माण गरिएको भए पनि यसलाई पूर्ण रूपमा वैज्ञानिक नमान्ने समालोचकहरूको धारणा रहेको छ। संवत् प्रणालीका विज्ञ डा. शास्त्रदत्त पन्तका अनुसार, वैदिक कालदेखि चलिआएको पात्रोले सौरमास र चन्द्रमासबीच समन्वय गर्ने प्रयास गरे पनि, इस्वी संवत्को प्रभाव भने आज विश्वभर विस्तार हुँदै गएको छ।
यही क्यालेन्डरमा वर्षको औसत अवधि ३६५ दिनभन्दा केही बढी भएकाले लिप–इयरको व्यवस्था गरिएको भए पनि पश्चिमी देशमै यसको वैज्ञानिक रूपरेखाबारे मतैक्य अझै पूर्ण छैन।
पछिल्ला वर्षमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन उल्लेख्य रूपमा बढेको छ। नयाँ वर्ष २०२६ का अवसरमा काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा लगायत पर्यटकीय क्षेत्रमा विशेष कार्यक्रम, कन्सर्ट र सांस्कृतिक उत्सवका माध्यमबाट नयाँ वर्षको स्वागत गरिँदैछ।







