Logo

अछाम पहिरो अपडेट: १७ जनाको मृत्यु, छ जना बेपत्ता



काठमाडौँ, १ असोज । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ ।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् ।

उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

हालसम्म तुर्माखाँद गाउँपालिका-५ मा चार, कमलबजार नगरपालिका-६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका-६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्