काठमाडौँ, ३ असोज । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू-भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए।
उनले भने “मनसुन न्यून चापीय रेखा सरदरभन्दा माथि नेपालको नजिकै छ । मनसुन करिब अन्तिम अवस्थामा छ, अन्त्यतिर पनि विगतमा भारी वर्षा गराएको हुनाले यो पटक पनि मनसुन कमजोर भन्न मिल्दैन ।”
उनका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन सक्रिय रहे पनि पनि यसको सामान्य प्रभाव रहनेछ ।






