काठमाडौँ, १४ असोज । २०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि केरुङ नाका सञ्चालनमा आयो । तस्करहरूले नेपालमा सुन ल्याउन उक्त नाकाको उपयोग गर्न थाले ।
केरुङ नाकाबाट सुन भित्रिन थालेपछि कडाइ गरियो । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन थाल्यो।विमानस्थलमा पनि कडाइ हुन थालेपछि तस्करहरूले तातोपानी नाका उपयोग गर्न थाले । त्यो नाका बन्द भएपछि फेरि केरुङ नाकाबाटै सुन तस्करी भइरहेको छ ।
गत पुस १० गते इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन ल्याउने चिनियाँ नागरिक दाओजिन वाङ र सहयोगी भागेर चीन पुगे । त्यसपछि उनीहरूले नयाँनयाँ रुटमार्फत सुन तस्करीलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ । अहिले पनि दाओजिनहरू चीनमै रहेको र विभिन्न माध्यमबाट नेपालतर्फ सुन तस्करी गरिरहेको प्रहरी स्रोतको दाबी छ ।
विमानस्थलबाट बाहिरिएको सुनको अनुसन्धान नसकिँदै केरुङ नाकाबाट भएको २ किलो सुन तस्करीमा पनि उनीहरूकै हात रहेको निष्कर्षमा प्रहरी पुगेको छ । नियमित जाँच गर्ने क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याइएको दुई किलो सुन जिल्ला प्रहरी कार्यालय रसुवाले बरामद गरेको थियो । नियमित चेकिङमा शंका लागेर जाँच गर्दा टिमुरेबाट स्याफ्रुबेंसी गइरहेका २४ वर्षीया सुदीप शेर्पाका साथबाट सुन बरामद भएको थियो । उनले त्यो सुन टिमुरेकै फुर्साङ्बु शेर्पाले दिएको र आफूले काठमाडौं ल्याउन लागेको बताएका थिए ।
सरकारको ध्यान विमानस्थलतिर गएका बेला तस्करहरूले केरुङ नाकालाई सुन तस्करीका लागि प्रयोग गरिरहेको अनुमान यी घटनाक्रमबाट गर्न सकिन्छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सबै नाकालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेकै बेला केरुङबाट सुन बरामद भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।







