झापा, २८ जेठ । कोशी प्रदेशका तराईका जिल्लाहरुमा पछिल्ला दिन अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ। जसका कारण इटहरी लगायत प्रदेशका विभिन्न पालिकाले विद्यालय वन्द गर्ने निर्णय नै गराएका छन्।
तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेपछि बालबालिकाको स्वास्थ्यमा असर पर्ने चिन्तासहित स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन्। विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा आज (२८ गते) सहित भोली र पर्सि विद्यालय बन्द गर्न निर्देशन नै दिएको छ।
यसैगरी इटहरी उपमहानगरपालिकाले समेत आजका लागि दिएको विदा थप गरेर भोली र पर्सिसम्मै कायम गरिरिदिएको छ। प्राप्त जानकारी अनुसार सुनसरीकै इनरुवा नगरपालिका र झापाको बिर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाका विद्यालय समेत बन्द गर्ने निर्णय भएको हो।
कोशी प्रदेशका तराईका जिल्लाहरूमा पछिल्ला केही दिनदेखि लगातार गर्मी बढिरहेको छ। मौसममा हावा नचल्ने आकाश खुलेकै अवस्थामा तापक्रम उच्च हुने क्रम जारी रहेकाले सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको देखिन्छ।
भद्रपुर,बिर्तामोड र दमक नगरपालिकाले विद्यालयलाई दिए दुई दिन गर्मी विदा
केही दिनदेखिकाे अत्यधिक गर्मीकाे कारण जनजीवन प्रभावित बन्दै गएपछि भद्रपुर, बिर्तामोड र दमक नगरपालिकाले विद्यालयहरुलाई विदा दिएका छन् ।
तीन वटै नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएकाे जनाइएको छ । अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएको विभिन्न विद्यालय र अभिभावकहरुबाट माग भएपछि हिउँदे र वर्खे विदाबाट कट्टा हुने गरी दुई दिन विदा दिइएको पालिकाहरूले जारी गरेकाे सूचना मा उल्लेख छ ।
यस अवधिमा तापक्रममा गिरावट आएमा वा बर्षात भई विद्यालय संचालन गर्न अनुकुल भएमा विद्यालयको नियमित पठनपाठनको व्यवस्था विद्यालयबाट मिलाउन हुन समेत अनुरोध छ भनी लेखिएको छ । यसअघि कमल गाउँपालिकाले आज र भोलि गर्मी विदा दिइसकेको छ ।