Logo

अदालतबाट क्लिन चिट लिएर फेरि राजनीतिमा आउँछु: श्रेष्ठ



काठमाडौँ, २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूले कुनै गल्ती नगरेको दोहोर्‍याएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर श्रेष्ठले आफू र आफ्नो पार्टीलाई बदनाम गराउने षड्यन्त्रअनुसार आवाज सम्पादन गरेर अफवाह फैलाइएको आरोप लगाएका हुन् ।

आफूमाथि लागेको आरोपबारे छानबिन गर्न पार्टीले निलम्बन गरेको विषयलाई स्वागत गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले अदालतबाट ‘क्लिन चिट’ लिएर फेरि राजनीतिमा सक्रिय हुने बताए ।

उनले पार्टीलाई उपचुनावमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको पनि बताए । उनले जनवरी-फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको दाबी गरेका छन् ।

उनले भने, ‘उपचुनाव र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ । यो अडियो खासगरी अहिले मिडियामा जहाँ पनि जसरी पनि बनाउन सकिन्छ । कहाँ-कहाँबाट कुराहरू जोडेर मिडियामा आएको छ । म पार्टीबाट निलम्बित भएको सदस्य पनि हो । म न्यायालय गएर सम्पूर्ण कुराहरू गरेर क्लिन चिट गरेर तपाईँहरूसँग आउनेछु । मेरो कारणले पार्टी र उपचुनावलाई अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो फसाइएको हो, सुनिश्चित रूपमा । जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ ।’

आफूमाथिको षड्यन्त्रको विरुद्धमा न्यायालयमा जाने प्रक्रिया सुरु भइसकेको ढाकाकुमार श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्