काठमाडौं, ४ माघ । चर्चित राजनीतिक तथा बौद्धिक व्यक्तित्व अधिवक्ता स्वागत नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको छ।
राप्रपाको केन्द्रीय कार्यालयमा भोलि माघ ५ गते सोमबार बिहान ११:३० बजे विशेष कार्यक्रमका बीच उम्मेदवारी सार्वजनिक गरिने पार्टीले जनाएको छ। कार्यक्रममा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहने बताइएको छ।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले यसबारे जानकारी दिँदै स्वागत नेपालको उम्मेदवारीले राप्रपाको राष्ट्रवादी राजनीतिक धारलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार आगामी निर्वाचनमा पार्टीलाई निर्णायक शक्ति बनाउने लक्ष्यका साथ संगठन र प्रचार अभियानलाई तीव्र बनाइनेछ।
स्वागत नेपाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–२ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी हालका सभामुख तथा एमाले नेता देवराज घिमिरेसँग झिनो मतान्तरले पराजित भएका थिए।
त्यसबेला घिमिरेले २६ हजार ६९७ मत ल्याएर विजयी हुँदा नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका थिए।
यसपटक पनि झापा–२ मा पुनः प्रतिस्पर्धा दोहोरिने देखिएको छ। एमालेले सभामुख घिमिरेलाई यही क्षेत्रबाट शनिबार पुनः टिकट दिएको छ।
झापा–२ मा स्वागत नेपाल र देवराज घिमिरेबीच फेरि कडा चुनावी भिडन्त हुने संकेत देखिएको छ।







