Logo

अध्यक्षसँगै सोध्छन्– ‘अध्यक्षज्यू खोइ’



ग्रामीण महिलाका दुःख के हुन् ? फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारसँग एकै वाक्यमा यसको जवाफ छैन । किनभने, महिलालाई अल्झाइराख्ने सामाजिक र सांस्कृतिक परिवेशले अनेक उल्झनहरू खडा गरिदिएका छन् । यसलाई हटाउन स्थानीय सरकारको प्रमुखका हैसियतले उनी अहिले अनेक नयाँ योजनाहरूको तर्जुमा र त्यसको कार्यान्वयनमा लागि परिरहेकी छन् । ग्रामीण जीवनका दुःख हटाउने उत्प्रेरणा उनलाई आफ्नै भोगाइ र अनुभवले पनि दिएको छ ।

सामान्य कृषक परिवारमा जन्मिएकी पार्वतीको बाल्यकालमा ग्रामीण भेगका अरू सामान्य कृषक परिवारका छोरीहरूको जस्तै दुःख र सुखको घामछाया छ ।

आफ्ना आमाबुबाको दस छोराछोरीमध्येकी जेठी पार्वतीको भागमा घरयासी कामको बोझ सधैं उस्तै हुन्थ्यो । यही बोझले उनले विद्यालय जाने छेक्न आउँथ्यो जसले गर्दा अक्षरहरूको संसारमा सानी पार्वतीलाई ज्यादा रमाउने अवसरै जुर्दैनथ्यो ।

‘बिहान ९ बजे नै खाना खाएर जानुपर्ने र चार बजेसम्म विद्यालयमा पढ्नुपर्ने भएकाले भोकले उधुमै सताउँथ्यो’, पार्वती सुनाउँझिन्, ‘तर के गर्नु ? खाजा खाने चलन नै थिएन त्यो बेला ।’ कहिलेकाहीँ घरमा खाना पाक्न ढिलो हुन्थ्यो । यस्तोमा, उनी भोकै स्कुल जान्थिन् जसले गर्दा दिनभरि नै उनी पेटको आगोसँग जुध्न पर्ने कष्टकर क्षणहरूबाट गुज्रन्थिन् जसलाई पार्वतीले भुलेकी छैनन् अझै ।

यस्ता अनेकन् अप्ठ्यारा र संघर्षको अनुभवबाट खारिएकी पार्वती यो वर्ष फिक्कल गाउँपालिकाको अध्यक्षका रूपमा चुनिएकी छन् । सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेकी ३७ वर्षीया अविवाहित पार्वती चाहन्छिन्, उनको बाल्यकालीन भोक अहिलेका बालबालिकाले झेल्न नपरोस् । त्यसैले, उनी गाउँपालिकाका सरकारी विद्यालयको दिवा खाजा कार्यक्रम कत्तिको प्रभावकारी रूपमा चलिरहेको छ भनेर बारम्बार जाँचबुझ गरिराख्छिन् ।

भौकै पेट गए पनि पार्वतीलाई विद्यालयले ज्ञानको खजाना भने प्रशस्त दियो । विद्यार्थीकालमै राजनीतिक क्रियाकलापमा संग्लन हुन पाउँदा उनमा राजनीतिक चेत हुर्किन पायो । २०५९ सालमा विद्यालयको प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै जिल्ला समिति सदस्य, अखिल नेपाल महिला संघको सदस्य र सचिव हुँदै अध्यक्ष, हाल संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा एमालेको जिल्ला सचिवालय सदस्य भएकी पार्वतीले अन्तरपार्टी महिला संजालको जिम्मेवारीको अनुभवसमेत सँगालेकी छन् । तत्कालीन जिल्ला विकास समितिमा जिल्ला सडक सुधार कार्यक्रम, ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रम, स्थानीय सडक सुधार कार्यक्रममा लामो समय सामाजिक परिचालकको रूपमा काम गरेको अनुभवले उनलाई यति बेला गाउँपालिकाको नेतृत्व सम्हाल्न मात्रै होइन विकासका प्राथिमकताहरू चयन गर्न पनि सजिलो भएको छ ।

गाउँपालिका अध्यक्ष सम्हाल्नुअघि उनी ग्रामीण महिला चेतना केन्द्र नामक गैरसरकारी संस्थामा लामो समयसम्म आबद्ध थिइन् । यो कार्य अनुभवले उनलाई ग्रामीण समाज चिन्न, यसका आवश्यकता बुझ्न र स्थानीयका समस्या खुट्याउन सजिलो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्