काठमाडौं, ७ वैशाख । राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आइतबार राजधानीमा गरेको प्रदर्शन सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य देशमा बढ्दो भ्रष्टाचारको विरोध र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सङ्घीय शासन प्रणालीको खारेजी थियो ।
बिहानैदेखि राप्रपाका नेता तथा कार्यकर्ता बिजुली बजारमा भेला भई नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरू त्यहाँबाट जुलुससहित नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक पुगेर प्रदर्शनमा सहभागी भएका थिए ।
यसैबिच, सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले पर्चासहित प्रदर्शन गरेका थिए । प्रदर्शनपछि प्रहरीले लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । उनीहरू हाल जिल्ला प्रहरी परिसर, काठमाडौँमा रहेका छन् ।
पार्टी अध्यक्षसहित शीर्ष नेताहरू पक्राउ परेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ ।