Logo

अध्यक्ष ओलीमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही होस्: एमाले



काठमाडौँ, १४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्तिसुरक्षामा देखापरेको चुनौतीका विषयमा ध्यानाकर्षण गराएको हो ।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

उनले मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ? भन्ने स्पष्ट पारेको बताए । उनले गृहमन्त्रीसँग आफूहरुले आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न आग्रह गरेको पनि बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नै अराजक गतिविधि गर्नेहरुलाई प्रोत्साहित गरेको आरोप लगाएका थिए ।

उनले प्रदेश नामकरण कानुनी रूपबाट टुंग्याइसकेको विषयमा प्रधानमन्त्रीले ठिक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको जिकिर गरेका हुन् ।

उनले भने, ‘शान्ति सुरक्षामा देखापरेको अत्यन्त गम्भीर चुनौती छ, त्यसको बारेमा उपप्रधान एवं गृहमन्त्रीज्यूलाई ध्यानाकर्षण गराएका छौँ । हाम्रो पार्टीको अध्यक्ष शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदा यो मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा जुन किसिमको अवस्था सिर्जना भयो, त्यो हरकत देखाउने कुरामा हामीले गम्भीर आपत्ति जनाएका छौँ, त्यसमा जुन तत्वले त्यो गरेका छन्, उनीहरुलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ । यसलाई प्रोत्साहीत गर्ने काम राज्यबाट नै प्रधानमन्त्री स्वयंले कानूनी प्रक्रियाबाट टुंगोमा पुर्‍याइएको विषयलाई यो विषय ठिक रहेनछ भनेर जुन अभिव्यक्ति दिनुभयो, त्यसले संविधान हातमा लिने कुरालाई र प्रवृत्तिलाई प्रोत्साहित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्