Logo

अध्यक्ष ओली भन्छन्: एमालेको लहर देखेर गठबन्धन थरर काम्छ



काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।

एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिरसमेत गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको दाबी पनि उनले गरेका हुन् ।

उनले भने, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाबिला गर्ने कुरा त्यही पनि उनीहरूको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन् । त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ । गठबन्धनको यो त्यान्द्रो समातेनन् र छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ‚ एमालेको भेलले बगाउँछ ।’

प्रतिक्रिया दिनुहोस्