काठमाडौँ, ५ माघ । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।
स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
शुक्रबार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली शुभारम्भ गर्दै अध्यक्ष ओलीले अस्वस्थ ढङ्गले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।
उनले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षड्यन्त्रबारे नागरिकलाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताए ।







