Logo

अध्यक्ष ओली भन्छन्: मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्छ



काठमाडौँ, १७ पुस । सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्ने सङ्केत गरेका छन् ।

अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेका थिए ।

उनले खेलाडीले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरूको त्यो माग सरकारसमक्ष पुर्‍याउन आफू लागिपर्ने आश्वासनसमेत दिए ।

नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले भने, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने तपाईँहरूको गुनासोलाई म सरकारसमक्ष पुर्‍याउँछु । अहिले त खेलकुदमन्त्री नै छैन । खेलकुदमन्त्री आउन १०/१५ दिन लाग्न पनि सक्छ ।’

प्रतिक्रिया दिनुहोस्