काठमाडौँ, ३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलको भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुई जनाको भेटवार्ता भएको जनाएको हो ।
पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएको थियो । त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ ।
गत प्रतिनिधिसभाको निर्वाचनमा रावललाई ओलीले टिकट नदिएपछि उनीहरूबीचको सम्बन्ध थप धुमिलिएको थियो ।
रावल पार्टीभित्र ओलीको कदमको सशक्त रूपमा प्रतिवाद गर्ने नेताका रूपमा चिनिन्थे तर ओलीसँगको खटपटपछि उनी निष्क्रिय थिए ।







