काठमाडौँ, ४ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा आफ्नो पार्टीको सिट बढ्ने दाबी गरेका छन् ।
बुधवार काठमाडौँमा पार्टीको स्कुल विभागले आयोजना गरेको पालिकाका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले आउँदो प्रदेश र सङ्घको चुनावमा धेरै सिट ल्याउनका लागि तयरीमा जुट्न आवश्यक रहेको बताए । प्रत्यक्ष चुनावमा आफ्नो पार्टीको सिट बढ्ने उनले दाबी गरेका हु्न् ।
उनले भने, ‘गठबन्धनको गीत हामीले बढी गायौँ । गठबन्धनको भरोसा धेरै गर्यौँ । अरूको भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ । हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनौँ । तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो । समानुपातिकमा २०/२५ लाख मत प्राप्त गर्यौँ भने २० देखि २५ सिट हामीले पाउँछौँ । प्रत्यक्ष चुनावमा हाम्रो क्षमता बढ्छ ।’







