Logo

अध्यक्ष नेपाल भन्छन्: राजनीतिमा जमेको फोहोर सफा गर्न चाहन्छौँ



काठमाडौँ, १८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति विकृत भएको बताएका छन् ।

सोमवार काठमाडौँमा एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल (आईसीटीयू) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले देशको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले देशको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति आपत्ति जनाए । उनले भ्रष्टाचार, सहजै सेवा प्रवाह नगर्नु र नागरिकको समस्यालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराशा बढ्दै गएको बताएका छन् ।

उनले भने, ‘हामी देशको राजनीतिलाई राम्रो दिशामा लैजान चाहन्छौँ । राजनीतिमा अनेकौँ फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौँ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ । यसबीचमा नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ ।’

अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवर्धन गर्ने र नागरिकमा सेवा सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्