काठमाडौँ, १२ माघ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।
बिहीवारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन् ।
अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको उनले बताए ।
उनले भने- ‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ । त्यो स्थिति र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफ गर्नुभयो ।’
बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिएको छ भने उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको छ ।
त्यस्तै यति एअरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिए ।
बैठकमा पार्टी एकता र संगठन विस्तार बारेमा एजेण्डा रहेको र शुक्रवार बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ ।







